धेरै हेरविचारले सम्बन्ध टाढिन सक्छ

6:07 AM



भाद्र ७, २०७३


श्रीमान्–श्रीमतीको सम्बन्ध साह्रै कोमल हुन्छ । यो सम्बन्ध कायम राख्न आपसी विश्वास, माया, आदर तथा सम्मान आवश्यक छ । इमान्दारिताले सम्बन्धमा माधुर्य ल्याउँछ । यसले जीवनका अनेकौं कठिनाइलाई हाँसीखुसी पार लगाउन सहयोग गर्छ । कतिपय कुरामा श्रीमान्–श्रीमतीको गलत सोचले उनीहरूको दाम्पत्य जीवनको उत्साह सेलाउँदै जान्छ । धेरैजसो महिला श्रीमान्सँग बढीभन्दा बढी समय बिताउन चाहन्छन् । उनीहरू आफ्ना श्रीमान्का स–साना आवश्यकता पूरा गर्न लागिपरेका हुन्छन् । यद्यपि धेरै ध्यान दिने बानीले कहिलेकाहीँ सम्बन्धमा चिसोपन ल्याउँछ ।




धेरैको मानसिकता श्रीमान् तथा श्रीमतीले एक–अर्काप्रति बढी ध्यान दिए दाम्पत्य जीवन सफल हुन्छ भन्ने छ तर सम्बन्ध दिगो तथा सफल बनाउन चाहिने भन्दा बढी चासो दिनाले त्यसले सम्बन्धको अन्त्य पनि गर्न सक्छ । श्रीमान्–श्रीमतीको ओभर केयरिङले एक–अर्कालाई नजिक ल्यानुभन्दा टाढा पुर्‍याउँछ । यसले मीठो सम्बन्धलाई पनि तीतो बनाउँछ ।



फरक मानसिकता
नेपाली समाजमा छोरीलाई सानैदेखि घरको कामकाज सिकाउने चलन छ । यो एक हिसाबले राम्रो पनि हो । कारण उनीहरू आफ्नो काम आफै गर्न सक्ने हुन्छन् तर यसका साथमा उनीहरू घरका पुरुष सदस्यको आराम तथा उनीहरूको सुविधाको ध्यान राख्नुपर्छ भन्ने पारिवारिक वातावरणमा हुर्कन्छन् । छोरीले सानै उमेरदेखि घर तथा वरपरको समाजमा आफ्नी आमा तथा समाजका अरू महिलाले बुवा तथा उसका घरमा भएका दाजुभाइको हेरविचार गरेको देखेकी हुन्छे फलस्वरूप विवाहपछि महिलाका लागि हरेक कुरा श्रीमान् हुन्छ ।



श्रीमान्लाई खुसी राख्न उसको हरेक कुरामा ध्यान दिने तथा बढीभन्दा बढी समय श्रीमान्सँग बिताउने चाहना हुन्छ । यद्यपि यो व्यवहारलाई श्रीमान्ले नकारात्मक रूपमा पनि लिन सक्छन् । यसले गर्दा सम्बन्ध बिग्रदै जान्छ । त्यसैगरी हाम्रो समाजमा छोराहरूलाई स्वतन्त्र रूपमा छोडिएको हुन्छ । उनीहरूलाई आफ्नो स्वतन्त्रता सबैभन्दा प्यारो हुन्छ । विवाहपछि श्रीमतीले स–साना कुरामा गर्ने प्रश्न तथा रोकटोकले उनीहरूलाई दिक्क लगाउँछ । त्यसैले सम्बन्धमा पर्सनल स्पेस आवश्यक छ ।



सन्तुलित व्यवहार
श्रीमान्–श्रीमतीले एक–अर्काप्रति सन्तुलित व्यवहार गर्नुपर्छ । दुवैले एक–अर्काको आवश्यकता बुझ्नुपर्छ । श्रीमान्ले श्रीमतीलाई यो पहिरन लगाऊ यो नलगाऊ भनेर अवरोध पुर्‍याउनु हुँदैन । एकले–अर्कालाई दबाउनु पनि हँुदैन भने आत्मसम्मानमा पनि ठेस पुर्‍याउनु हुँदैन ।



स्वतन्त्रता
वैवाहिक जीवनमा स्वतन्त्रताले पनि महत्वपूर्ण भूमिका खेल्छ । दाम्पत्य जीवनमा दुवैले एक–अर्कालाई धेरै माया गर्ने भएकाले एक–अर्कासँग धेरैभन्दा धेरै समय बिताउनुपर्छ भन्ने गलत मानसिकता पाइन्छ । त्यसैगरी हरेक काम एक–अर्कालाई सोधेर गर्नुपर्छ, आफ्ना हरेक कुरा सेयर गर्नुपर्छ भन्ने मान्यता छ तर यो व्यावहारिक नहुन सक्छ । दुवैले एक–अर्काको व्यक्तिगत भावनाको कदर गर्दैै स्वतन्त्रताको सम्मान गर्नुपर्छ । उदाहरणका लागि श्रीमान्लाई आफ्नी श्रीमतीले गर्ने सामाजिक काममा रुचि छैन भने पनि त्यसमा कुनै किसिमको अवरोध गर्नु हँुदैन । यो उसका लागि आत्मसम्मानको कुरा हुन सक्छ । कुनै दिन श्रीमान् अफिसबाट ढिला घरमा आए पनि अनावश्यक रूपमा प्रश्न सोधेर तनाव उत्पन्न गराउनु हुँदैन । अफिसको काममा कहिलेकाहीँ ढिलो पनि हुन सक्छ । त्यसैगरी एक–अर्कालाई कुनै कारणले दोष दिनु भन्दा त्यो कुरा हल गर्नतिर लाग्नुपर्छ ।



फरक अपेक्षा
श्रीमान्–श्रीमतीको चाहना फरक हुन्छ । यो सम्बन्धमा पुरुषको तुलनामा महिलाको अपेक्षा धेरै पाइन्छ । महिलाहरू आफ्ना श्रीमान्को कुरामा धेरै पोजेसिभ हुन्छन् । छोरीलाई सानै उमेरदेखि घरपरिवारका पुरुष सदस्यप्रति निर्भर रहन सिकाइएको हुन्छ । फलस्वरूप विवाहपछि पनि उनीहरू आफ्ना श्रीमान्मा निर्भर रहन रुचाउँछन् । उनीहरूलाई श्रीमान्को केयरिङ नेचर मन पर्छ । त्यसैले उनीहरू आफ्ना श्रीमान्प्रति त्यस्तै व्यवहार गर्ने प्रयास गर्छन् तर वैवाहिक जीवनमा श्रीमान्को श्रीमतीप्रतिको अपेक्षा एउटा सीमामा पुगेर खुम्चिएको पाइन्छ । श्रीमान्को चाहना आफ्ना श्रीमतीले घरको हरेक काम व्यवस्थित तरिकाले गरेको तथा उनीहरूको माग समयमा पूरा गर्नेमा सीमित हुन चाहन्छन् । यसभन्दा बढी कुनै काम महिला आफ्ना श्रीमान्का लागि गर्न चाहन्छन् भने त्यो बालुवामा पानी हालेसरह हुन्छ ।



पुरुष मानसिकता
पुरुषको व्यक्तित्वमा लचिलोपन हुँदैन । विवाहपछि उनीहरूलाई आफूलाई मन पर्ने, मन नपर्ने कुरा श्रीमतीको चाहनाअनुसार ढाल्न गाह्रो हुन्छ । किनभने हाम्रो समाजमा उनीहरूलाई श्रीमतीसँग एडजस्ट हुन सिकाइएको हुँदैन । यो कुरा छोरी अर्थात् पत्नीको मात्र जिम्मेवारी मानिन्छ । आज महिलाको संसार तीव्र गतिमा परिवर्तन भैरहेको छ । त्यसैले दाम्पत्य जीवनमा श्रीमतीले श्रीमान्सँग समान अपेक्षा राखेका हुन्छन् ।



समयसँगै पुरुषको मानसिकता भने बदलिएको पाइँदैन । उनीहरू वर्षांै पुरानो मानसिकता तथा सोचमा बाँचिरहेका छन् । त्यसैले विवाहपछि आफूलाई श्रीमतीअनुसार ढाल्न कठिन हुन्छ । पुरुषको यो मानसिकता बदलिन अझ समय लाग्छ । त्यसैले सफल दाम्पत्य जीवनका लागि श्रीमतीले अझै केही धैर्य गर्नु आवश्यक छ साथै श्रीमान्सँग शिशुको जस्तो व्यवहार गर्नुभन्दा उनीहरूको व्यक्तिगत स्वतन्त्रता एवं भावनाको सम्मान गर्नुपर्छ ।


You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images